• काठमाण्डौ : स्थानिय निकाय चुनाव २०७९ मा ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । त्यस्तै एमालेले १८४ पालिका प्रमुख जितेर अघिल्लो चुनावमा भन्दा निक्कै कमजोर अवस्थामा दोश्रो स्थानमा छ । माओवादी केन्द्र भने अघिल्लो चुनावको तुलानमा निक्कै सुधारिएको छ । माओवादी केन्द्रले ११४ पालिकाको प्रमुखमा जित निकालेको छ ।

    नेपाली कांग्रेस

    दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    नेकपा एमाले

    दोस्रो स्थानमा रहेको एमालेले ६३ वटा नगरपालिकाको मेयर र एक सय २० वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८५ वटा नगरपालिकाको उपमेयर, एक सय २० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    नेकपा माओवादी केन्द्र

    तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    एकीकृत समाजवादी

    नेकपा एकीकृत समाजवादीले सात वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष गरी १५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एकीकृत समाजवादीले आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    जसपा

    जनता समाजवदी पार्टी जसपाले चार वटा नगरपालिकाको मेयर, १७ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    अन्य/स्वतन्त्र

    बाँकी पालिकामा राप्रपा, जनमोर्चा, नेमकिपा, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।