• काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गरे । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताए ।

    आज मङ्गलवार काठमाण्डौमा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गरे । उनले भने, ‘हामीले जितको तयारी गरिसक्यौँ । नेकपा एमालेको जित अनिवार्य छ । यो व्यक्तिहरूको बीचको वा उम्मेदवारको बीचको मात्रै लडाइँ होइन । को कुन पार्टीबाट उठ्यो त्यो त्यत्रो ठूलो कुरा होइन ।’

    सभामा अहिले ओलीले सम्बोधन गरिरहनुभएको छ । यसअघि बोल्नुभएका काठमाण्डौ महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले आफूहरू विजयी हुने र एक वर्षभित्रै काठमाण्डौमा रहेको फोहोरको समस्या समाधन समाधान गर्ने आश्वासन दिएका थिए ।

    कार्यक्रममा ओलीले नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतमलाई पनि पार्टीमा स्वागत गरेका हुन् ।