• काठमाडौं : नेकपा एमालेका नेता केशव स्थापितले वाग्मती प्रदेशसभा सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले आजनै राजीनामा दिएका हुन्।

    यसअघि एमालेले स्थापितलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिएका हुन्। हेटौंडाबाट काठमाडौं फर्किएपछि उनले राष्ट्रिय सभागृहमा गएर मनोनयन दर्ता गराउने बुझिएको छ।

    एमालेको शनिवार बसेको सचिवालयको बैठकले काठमाडौंको मेयरमा स्थापितलाई अघि सारेको थियो। यसअघि पनि मेयर भइसकेका स्थापितलाई एमालेले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो रणनीतिक उम्मेदवार भएको बताएको छ।

    उपमेयरमा पूर्व मिस नेवाः सुनिता डंगोललाई एमालेले अघि सारेको छ। उनी यसअघि नै मेयरमा उठ्ने बताउँदै आएकी थिइन् । जिल्ला कमिटीले डंगोललाई सिफारिस नगरेको भए पनि एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई डंगोलले हराउन सक्ने भन्दै टिकट दिएको हो।