• काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन भएकी छिन् ।

    केन्द्रीय कमिटीको बैठकअघि आजै बसेको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो ।

    पूर्वराष्ट्रपति भण्डारीले पार्टीको ११औँ महाधिवेशनअघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो । त्यति बेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुला राजनीतिमा वा कुनै राजनीतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो ।

    यही असोज ५ गतेदेखि चलिरहेको केन्द्रीय कमिटीको बैठक आज सकिएको छ । केन्द्रीय कमिटीको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।

    नेकपा एमालेको स्थायी कमिटीमा सात जना मनोनीत भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्य मनोनीत गरेका हुन् ।