• काठमाडौं : नेपालबाट भारततर्फ हुने चियाको निर्यात ठप्प भएको छ । भारतले नेपाली चिया एकतर्फि रोकिदिँदा सयौंको संख्यामा नेपाली उद्योग बन्द भएका छन् भने लाखौंको रोजगारी संकटमा परेको छ । भारतले प्रयोगशाला परिक्षणको शिर्षकमा नेपालको चिया निर्यातलाई एकतर्फि रुपमा रोकिदिँदा १५२ चिया उद्योग बन्द भएका छन् भने २ लाख कामदारको रोजगारी संकटमा परेका हुन् ।

    भारततर्फ हुने सम्पूर्ण चियाको निर्यात र आयातलाई हेर्ने टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकाले नेपालको चिया निर्यातलाई रोेकिदिएको हो । एक हप्ता अघिदेखि नेपालको चिया निर्यातलाई रोकिदिँदा भारत र नेपालको गोदाममा लाखौं किलोग्राम चिया थन्किएर बसेका छन् ।

    नेपालले भारततर्फ गर्ने चिया निकासीलाई एक हप्ता अघिदेखि एकतर्फि रुपमा रोकिदिएको छ । भारतले नेपालको चियालाई रोकिदिनुको बास्तविक कारणबारे हालसम्म धेरै अनविज्ञ छन् । तर सतहमा आएको कारणलाई आधार मान्दा टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकालाई दोष देखाइरहेका छन् ।

    भारतले नेपालको चिया निर्यातलाई ठप्प बनाउँदा हालसम्म नेपालका १५२ उद्योग बन्द भएका छन् । नेपालको चिया उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि एकदेखि डेढ लाख कामदार जोडिएका छन् । उनीहरुले यसै क्षेत्रलाई आधार बनाएर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । नेपालको चिया उद्योगमा प्रत्यक्ष रुपमा भने २६ देखि ३४ हजार श्रमिक आबद्ध छन् ।

    हाल भारतले नेपालको चिया निर्यातलाई रोकिदिँदा नेपाली चिया उद्योगका करिब २ लाख हाराहारी कामदारको रोजगारी संकटमा परेको हो । साथै, उद्योगहरु पनि बन्द हुन पुगेका हुन् । नेपालबाट भारत पुगेका ३ लाख किलोग्राम नेपाली चिया भारतीय गोदाममा थन्किएर बसेका छन् ।

    त्यसैगरि, भारततर्फ निकासीका लागि तयारी अवस्थामा राखिएको १२ लाख किलोग्राम चिया नेपालको गोदाममा थन्किएर बसेका छन् । समस्याले तत्कालै निकास नपाए ती चिया गोदाममा नै सडेर विग्रने अवस्थामा पुग्ने भन्दै नेपाली व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् ।

    भारत सरकारको वाणिज्य एवं उद्योग मन्त्रालयको वाणिज्य विभागअन्तर्गत टी बोर्ड भारत पर्दछ । टी बोर्ड भारतले सम्पूर्ण चियाको आयात र निर्यातलाई हेर्ने गर्दछ । यही टी बोर्डले फेब्रुअरी १०, २०२६ मा भारततर्फ निकासी हुने चियासम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । टी बोर्ड भारतले जारी गरेको नयाँ निर्देशिकाको (एसओपि) स्ट्याण्डर्ड अपरेटिङ्ग प्रोसिडुअरको बुँदाहरुमा परिवर्तन गरेको छ ।

    भारततर्फ निकासी हुने चियाले उक्त (एसओपि) को गुणस्तर परिक्षण पास गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना गरेको हो । प्रयोगशाला परिक्षण गरिएको चियालाई फसाई (एफएसएसएआई) ले पास गरि अघि बढाएपछि मात्रै भारतीय बजारमा नेपाली चिया प्रवेश गर्न पाउने उल्लेख गरिएको छ ।

    तर चियालाई परिक्षण गरिएको प्रयोगशाला रिपोर्ट आउनका लागि नै १५ दिन (२ हप्ता) लाग्ने गर्दछ । यसको रिपोर्ट आउने समयसम्म नेपाली चियालाई गोदाममा राख्नुपर्दछ । दुई हप्तासम्म गोदाममा राखेको चियाको शुल्कले पनि नेपाली चिया उद्योगीलाई मर्कामा पारेको छ ।

    प्रयोगशाला परिक्षणमा पास भएका चियालाई भारतीय बजारमा प्रवेश गर्न दिइन्छ । तर प्रयोगशाला परिक्षणमा पास नभएका चियालाई पुनः नेपाल फिर्ता पठाउनुपर्ने हुन्छ । नभए भारतीय भूमिमा नै नष्ट गर्नुपर्ने हुन्छ । भारतीय भूमिबाट फिर्ता आएका ती चियालाई नेपाल भित्र्याउन पनि थप ४० प्रतिशत भन्सार शुल्क नेपाली व्यवसायीले बुझाउनु पर्दछ ।

    यसले चिया व्यवसायी दोहोरो मारमा पर्ने देखिन्छ । नेपाली चिया व्यवसायीले आफुले उत्पादन गरेको चिया बेच्न पनि पाएनन् भने आफ्नै चिया फिर्ता ल्याउन पनि थप शुल्क बुझाउनु पर्ने बाध्यात्मक अवस्था आएको छ ।