• अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ ।

    अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ ।

    इरानको संसद् सभामुखले चेतावनी दिँदै अमेरिका आक्रमणमा उत्रिए इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य ठेगानामाथि आक्रमण गर्ने समेत चेतावनी दिएको खबरमा उल्लेख छ । महँगीविरुद्ध सुरू भएको आन्दोलन अहिले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा परिणत भएको छ ।

    इन्टरनेट पूर्ण रूपमा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ । यसैबीच, इरानका पूर्व शाहका छोरा रेजा पहलवीले विदेशबाट प्रदर्शनकारीलाई समर्थन गरेका छन् । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ ।

    अमेरिकाले हस्तक्षेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सतर्कता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।