• काठमाडौं : नीति अनुसन्धान प्रतिष्ठानले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प प्रयोग गर्न सकिने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    प्रतिष्ठानले आज छलफल गरेको अध्ययन निष्कर्ष अनुसार मदानको अनिवार्यता, मतदान गर्न दिँदा हुने जोखिम र मतदानको मार्गचित्रसहित सरकारलाई तीन विकल्प सुझाउने तयारी गरेको हो ।

    प्रतिष्ठानले आई–भोटिङ विधिको प्रयोग, सूचना प्रविधिको सहयोगमा हुलाकबाट गरिने मतदान र सम्बन्धित देशको कूटनीतिक नियोगमा भौतिक उपस्थितिमा मतदान गर्नेमध्ये एक विकल्प छनोट गर्न सकिने निष्कर्ष निकालेको छ ।

    आई–भोटिङ विधिमार्फत मतदान गराउँदा सर्वसुलभ, मितव्ययी, किफायती, पहुँचयोग्य, चुस्त, पारदर्शी, सहभागितामूलक, सुरक्षित र प्रभावकारी हुने प्रतिष्ठानको निष्कर्ष छ ।

    प्रतिवेदनमाथिको छलफलमा बोल्दै प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माले सरोकारवालाबाट आएका सबै सकारात्मक सुझावहरूको आधारमा प्रतिवेदन तयार पारिएको बताए ।

    नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन विद्यमान निर्वाचनसम्बन्धी कानूनहरूमा आवश्यक परिमार्जन आवश्यक रहेको पनि जनाएको छ ।