• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफ्नो प्रशासनले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजना स्वीकार गर्ने समयसीमा तोकेका छन् । उनले एक हप्ता नोभेम्बर २७ तारिखसम्मको समयसीमा तोकेका हुन् ।

    यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले धेरै कठिन विकल्पको सामना गरिरहेको बताएका छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूहरु इतिहासको सबैभन्दा कठिन समयमध्ये एकमा रहेको बताएको बीबीसीले जनाएको छ । रुससँग युद्ध अन्त्यका लागि अमेरिकाले राखेका शर्तहरुले युक्रेनलाई आफ्नो गरिमा गुमाउनुपर्नेसम्मको अवस्था आएको उनको प्रतिक्रिया छ ।

    जेलेन्स्कीले या हामीले आफ्नो गरिमा गुमाउनुपर्ने या महत्त्वपूर्ण साझेदार अमेरिकाको साथ छाड्नुपर्ने हुनसक्ने बताएका छन् । अमेरिकी प्रशासनबाट प्रस्तावित शान्ति योजनामा युक्रेन पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्ने, आफ्ना सैनिक कम गर्ने र नेटोमा कहिलेपनि सहभागी नहुनेलगायतका शर्तहरु रहेका छन् । सन् २०२२ देखि रुस–युक्रेन युद्ध चलिरहेको छ ।