• काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । आज काठमाडौंको पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उनले आउँदो फागुन २१ गतेको चुनावलाई सफल बनाउन आह्वान गरेका हुन् ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको चुनाव देश र लोकतन्त्र तथा आमनागरिकको भावनाका लागि अपरिहार्य भएको उल्लेख गरे । उनले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै संविधान, लोकतन्त्र र देशलाई जोगाउनका लागि चुनावको मिति घोषणा गरिएको पनि बताए ।

    यो चुनावबाट नै देशले निकास पाउने र सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउने उनले विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलले समाज तथा देशको आवश्यकता अनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनुपर्नेमा पनि जोड दिए ।