• काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा हिजो भएको घटनालाई दुःखद भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएको जानकारी दिएकी छिन् ।

    अभिव्यक्ति स्वतन्त्रताको सम्मान आफूहरुको प्रतिबद्धता भए पनि यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको उनले स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र चुनावको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको बताएकी हुन् ।

    उनले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अपिल गरेकी हुन् । बाराको सिमरा विमानस्थल गेट अगाडि हिजो एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि बेलुकीसम्म कर्फ्यु लगाइएको थियो । बाराको परवानीपुरमा भएको आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध खडा गरेको एमालेले आरोप लगाएको छ । जेनजी प्रतिनिधिहरूले भने एमाले कार्यकर्ताबाट आफूमाथि कुटपिट र दुर्व्यवहार भएको दाबी गरेका छन् ।