

-
घोडाघोडी : कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुगेका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो ।
जिल्लाको भजनी–४ का राजकुमार चौधरीलाई पनि धान बेच्नका लागि चार दिन लाग्यो ।
सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ ।
कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, ताकि भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् ।
‘तीन दिन भयो घर फर्किएको छैन,’ घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, ‘धान बेच्न यति दुस्ख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।’ उनीजस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिन–रात लाइनमा उभिरहेका छन् ।
यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् ।
कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए ।
बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, ‘धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौं ।’
कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् ।
धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् ।
घोडाघोडीकी रमिता चौधरी भन्छिन्, ‘धान बेचेपछि तिरौंला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगंगा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए । सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ ।
कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, ‘अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।’
अर्कै समस्या जनशक्ति र पूर्वाधार हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, ‘यसपटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यहीँ व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।’ एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए ।
बिहान १० बजेबाट ४ बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ बजेदेखि सुरु गरी बेलुका ९ बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।
News Desk 0 response शुक्रबार, कार्तिक २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


