• सिन्धुली : बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले आज छुट्टाछुट्टै सूचना निकालेर बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाएको जानकारी गराएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेले बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा गाडी सञ्चालनमा रोक लगाएको जानकारी गराएको छ । सिन्धुली प्रशासनले पनि बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्गअन्तर्गत खुर्कोट बजारदेखि काठमाण्डौतर्फ गाडी आवागमनमा निषेध गरेको जनाएको छ ।

    दुवै प्रशासन कार्यालेले दिउँसो पनि अत्यधिक पानी परेमा गाडी चलाउन रोक लगाउन सकिने बताएका छन् । वर्षाका कारण कोशी राजमार्गमा पनि अवरोध आएको छ । राजमार्ग बाहेक साना सडकमा पनि अबरोध आउन सक्ने भएकोले सतर्कताका साथ गाडी चलाउन प्रहरीले आह्वान गरेको छ ।

    यस्तै बदली र वर्षाका कारण आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित लुक्ला लगायतका विमानस्थलमा उडान प्रभावित भएको छ । हिमाली क्षेत्रमा पदयात्रामा गएर समस्यामा परेकाहरुको उद्धारसँगै जान नदिन रोक्ने लगायतका काम भइरहेको भन्दै प्रहरीले केही दिन पदयात्रामा नजान भनेको छ ।

    यसैबीच नेपाल पर्यटन बोर्डले मौसम सामान्य नहुँदासम्मसगरमाथा, लाङटाङ, इलाम र ताप्लेजुङलगायतका पूर्वी हिमाली पदमार्गहरूमा पदयात्रामा नजान आग्रह गरेको छ । त्यसैगरी पूर्व र मध्यम पहाडी क्षेत्रमा अनावश्यक यात्रा नगर्न, पहिरो वा बाढी प्रभावित सडकमा गाडी नचलाउन र नदी वा खोलानजिक टेन्ट राखेर क्याम्पिङ नगर्न पनि आग्रह गरेको छ ।