• काठमाडौं : नेपाली हिन्दुहरुको महान् चाडका रुपमा दशैंलाई लिइन्छ । नेपालीहरुले दशैंलाई धुमधामका साथ मनाउने गर्दछन् । यस क्रममा सामान्य अवस्थाको तुलनामा अधिक मात्रामा मासुजन्य परिकारको खपत हुने गरेको छ । स्वस्थ मासु अनि मासुको परिकार तयार गर्दा सचेत भइएन भने समस्या निम्तिन सक्छ ।

    नेपाल बाहिर रहेका नेपालीहरुले पनि आफ्नो परम्परालाई निरन्तरता दिदै देश बाहिर रहेर पनि दशैं मनाइरहेका छन् । नेपालमा रहेकाहरुले पनि आफूसँग नभएपनि सापटी लिएर तथा ऋण काढेर भएपनि नयाँ लुगा लगाउने अनि मिठो खाने गर्छन् । यस क्रममा दशैंको मुख्य विशेषताका रुपमा मासु खानुलाई पनि लिइन्छ । दशैंमा मासुको सबैभन्दा बढी खपत हुने गर्दछ ।

    दशैंमा विशेषगरी मासुका विभिन्न परिकारहरु बनाएर खाने चलन हुन्छ । मासुमा अत्याधिक रुपमा पौष्टिक आहार पाइन्छ । जसमा पर्याप्त मात्रामा प्रोटिन, जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्व पाइन्छ ।

    जसले मानिसको शरिरलाई शक्ति प्रदान गर्न मद्दत गर्ने गर्दछ । तर मात्रा मिलाएर खान जानिएन वा दशैंमा पनि नखाए कहिले खाने भनेर धेरै खाईयो भने यसले स्वास्थ्यमा नराम्रो असर पार्छ ।

    अमेरिका तथा यूरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूले गरेको अध्ययन अनुसार खानामा दैनिक अत्याधिक रातो मासुको प्रयोगले मानिसको मुटुमा असर पार्ने देखाएको छ । यति मात्र नभई उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउने कुरालाई अनुसन्धानले पुष्टि गरेको छ ।

    सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने, आर्थाइटिस (हाडजोर्नी सम्बन्धी रोग), महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैको शरीरमा कोलेष्ट्रोलको मात्रा पनि बढ्न जान्छ । यही कारण इच्छाएको परिकार खानबाट सधैंका लागि वञ्चित हुनु पर्ने अवस्था निम्तिन सक्छ ।

    नेपालका मासु पसल तथा घरमा मासु काट्दा उचित ध्यान पुर्याउन नसकेका कारण पनि मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने गरेका तथ्य यस अघि सार्वजनिक भैसकेका छन् । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु सर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

    जसका कारण दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ । त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

    मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी भई खाना प्वाइजनिक हुन पुग्छ । जसले गर्दा मासु तथा खाना खाएको केही समयभित्रै पेट दुख्ने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिन थाल्छन् । यस्तो भएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गएर जँचाई हाल्नुपर्छ ।

    मासुबाट शरिरमा रोग सर्ने कारणः

    बत्ती नभएका बेला फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा

    मासु काट्ने स्थान, काट्ने हतियार सफा नभएमा

    सडे गलेको मासु सेवन गरेमा

    मासुको परिकार तयार गर्ने व्यक्ति स्वस्थ नभएमा

    राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा

    रसायनयुक्त मासुको प्रयोगबारे सचेत नभएमा