• काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्।

    अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो।

    प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ।

    अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।

    उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

    अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।

    घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।

    आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।