• युरोपेली आयोग अन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार सन् २०२५ को अहिलेसम्म युरोपेली सङ्घका विभिन्न देशहरूमा झन्डै ८ लाख ९५ हजार हेक्टर जमिनको जङ्गललगायत संरचना डढेलोबाट नष्ट भएको छ ।

    यो सङ्ख्या अघिल्लो वर्षको त्यही अवधिमा भएको क्षतिभन्दा चार गुणा बढी हो । यस वर्ष अगस्टको मध्यसम्म डढेलोले क्षति पुर्‍याएको क्षेत्रफल पछिल्ला १९ वर्षको औसत २ लाख ४४ हजार हेक्टरभन्दा धेरै पुगेको छ ।

    यस वर्ष डढेलोका कारण अनुमानित कार्बन डाइअक्साइड उत्सर्जन ३ करोड १९ लाख टन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणा बढी हो ।

    यो हप्ता आयरल्यान्ड, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनीको उत्तरी भूभाग, पोल्यान्ड, डेनमार्क, स्विडेन र फिनल्यान्डका केही क्षेत्रमा डढेलोको जोखिम अति उच्च हुने चेतावनी दिइएको छ ।

    संयुक्त अनुसन्धान केन्द्रका अनुसार युरोपेली सङ्घभित्र हरेक वर्ष औसतमा ६० हजारभन्दा बढी डढेलो हुने गर्छन् जसबाट झन्डै ५ लाख हेक्टर भू–भागको जङ्गल तथा संरचना नष्ट हुने गर्छ । यसले मानवीय क्षति गर्नुका साथै वार्षिक रूपमा झन्डै २ अर्ब युरो बराबरको आर्थिक क्षति हुने गरेको छ ।