• अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ ।

    कोभिड–१९ महामारीको समयमा १ हजार ८ सय जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात् विमानस्थल मैदानमा कार्यरत कामदारहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा अदालतले क्वान्टास एअरलाइन्सलाई जरीवाना गरेको बीबीसीले जनाएको छ ।

    अस्ट्रेलियाली यातायात मजदूर सङ्घले अदालतको निर्णयको स्वागत गर्दै ‘फेअर वर्क’ ऐन अन्तर्गत अस्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै ठूलो जरीवाना भएको बताएको छ ।

    सङ्घीय अदालतका न्यायाधीश माइकल लीले यो सजायले अन्य कम्पनीहरूका लागि उदाहरण स्थापित गर्ने बताएका छन् ।

    क्वान्टास एअरलाइन्स जरीवाना तिर्न सहमत भएको खबरमा उल्लेख छ । अदालतको निर्णयले कर्मचारीहरूलाई हानि पुर्याउने कार्यहरूका लागि जिम्मेवार ठहराएको कम्पनीको भनाइ छ ।

    यसैबीच क्वान्टास समूहकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भेनेसा हडसनले १ हजार ८ सय २० जना ग्राउन्ड ह्यान्डलिङ कर्मचारी र उनीहरूका परिवारले भोग्नु परेको कठिनाइका लागि माफी मागेका छन्।