• इरानले इजरायलबाट भइरहेको आक्रमण नरोकिएसम्म परमाणु कार्यक्रमका विषयमा कुनै किसिमका वार्ता सुरु नहुने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरागचीले युरोपेली नेताहरुसँगको भेटमा आक्रमण भइरहेको बेला परमाणु कार्यक्रमसम्बन्धि कुनै वार्ता सुरु हुन नसक्ने बताएका बीबीसीले जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बासले गएराति जेनेभामा युरोपिय नेताहरुसँग भेटघाट गरेका हुन् । भेटमा युरोपेली नेताहरुले इरानले अमेरिकासँग परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता गर्नुपर्ने अनुरोध गरेका थिए ।

    इरान र इजरायलबीच संघर्ष जारी छ । दुबै देशले एक अर्का विरुद्ध मिसायल आक्रमण गरिरहेका छन् । इजरायलको आक्रमण रोकिएपछि भने परमाणु कार्यक्रमसम्बन्धी वार्ताबारे सोच्न सकिने इरानले जनाएको छ ।