• इजरायली सेनाले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सक्रिय उद्धार समूह गाजाको नागरिक प्रतिरक्षाका प्रवक्तालाई हमास ‘आतङ्ककारी’ भएको आरोप लगाएको छ । गाजामा गरेको आक्रमणका क्रममा फेला परेका दस्तावेजलाई उद्धृत गर्दै सेनाले महमुद बासाल इस्लामिक लडाकू समूहमा ‘सक्रिय आतङ्ककारी’ भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

    इजरायली सेनाले बासालको हमाससँगको सदस्यताको सूची कहाँ र कसरी प्राप्त भयो भन्ने स्पष्ट नगरी मिडियालाई हमासको सदस्यता सूचीको प्रतिलिपि जारी गरेको थियो । बासालले गाजामा आफ्नो गतिविधिबारे गलत र अपुष्ट सूचना फैलाएर हमासको उद्देश्य पूरा गरेको आरोप इजरायलले लगाएको छ ।

    यसैबीच उद्धार समूहका प्रवक्ता महमुद बासालले यो झुटो आरोप रहेको र आफू कुनै पनि सैन्य सङ्गठनका लागि काम नगर्ने बताएका खबरमा उल्लेख छ । आफ्नो संस्थाको अभियान अन्तर्राष्ट्रिय कानूनबाट निर्देशित रहेको उनको भनाइ छ ।

    नागरिक सुरक्षा एजेन्सीले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका पीडितहरूलाई अस्पताल पुर्याउन उद्धारकर्ताहरू तैनाथ गर्दै आएको छ । यस सङ्गठनलाई प्रायः अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो समाचारमा उद्धृत गर्छन् ।