• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गरेका छन् । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री सर केयर स्टाररसँग राम्रो सम्बन्ध रहेको र बेलायतसँगको व्यापारिक समस्या भने समाधान गर्न सकिने उल्लेख गरे । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर घोषणापछि ट्रम्पले ईयूमा पनि कर लगाउने बताएका हुन् ।

    अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत आयात कर शुरू भएको छ । क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकाले लगाएको करको बदला लिएमा क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

    यस्तै अमेरिकाले लगाएको करलाई लिएर क्यानडाका केही पसलहरूले अमेरिकी उत्पादनहरू हटाउन शुरू गरिसकेका छन् । यसअघि आइस हक्की र बास्केटबल खेलहरूमा क्यानडेलीहरूले अमेरिकी करको विरुद्धमा नारा लगाएका थिए ।

    क्यानडाको नोभा स्कोटियाकी ६७ वर्षीया क्यारोल चान्डलरले सम्भव भएसम्म सबै अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र फ्लोरिडा भ्रमणको योजना पनि रद्द गर्न लागेको बताएका छन् ।

    अमेरिकी निर्णयपछि मेक्सिकोले पनि अमेरिकी उत्पादनहरूमा आयात कर लगाउने घोषणा गरेको छ ।

    चीनले अमेरिकी कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकूल भएको भन्दै निकै असन्तुष्ट रहेको बताएको छ । चीनले अमेरिकालाई आफ्नो त्रुटिपूर्ण अवधारण सच्याउन र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।