• काठमाडौं । गृहसचिव एकनारायण अर्याललाई १३ भदौमा मुख्य सचिव बनाउने निर्णय गरेसँगै गृह मन्त्रालय सचिवविहीन छ । तत्कालिन गृहसचिव अर्यालले १५ भदौदेखि मुख्यसचिवको जिम्मेवारी वहन गरिसकेका छन् । गृह मन्त्रालय अत्यन्तै संवेदनशील निकायका रूपमा छ । मुलुकको समग्र शान्तिसुरक्षा तथा आन्तरिक सुरक्षा अवस्थालाई सुदृढ गर्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्न मन्त्रालयका अधिकारीहरू २४ सै घण्टा खट्नुपर्ने हुन्छ । अहिले बाढीपहिरोको बेला हो । जुनसुकै बेला पनि राष्ट्रिय विपत्ति आउने भएकाले गृह प्रशासन सचेत हुनपर्छ । तर, एकसाता हुँदा पनि गृहसचिव नै छैनन् । सोमवार मन्त्रीपरिषद्को बैठक बसेर गृहसचिव चयन गर्न पर्ने भएपनि सो दिन बैठक नै हुन सकेन ।


    हानाथापमा गृह सचिव


    गृहसचिव बन्न सचिवहरू व्यापक दौडधुपमा लागेका छन् । बिभिन्न शक्ति केन्द्रमा दौडनेहरु योग्य नभएपनि रिझाएर गृहसचिव बन्ने योजनामा छन् ।
    नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषयसमेत हेर्ने गरी गृह मन्त्रालयका विभिन्न ५१ वटा महत्वपूर्ण जिम्मेवारी रहेका छन् ।

    सो जिम्मेवारीअनुसार गृह प्रशासन सञ्चालन हुन सकेको छैन । अहिले गृहसचिव बन्न केही सचिवहरु लागेका छन् । यस अघि गृहसचिव भएर खासै काम देखाउन नसकेका विनोदप्रकाश सिंहदेखि हरेक शक्ति केन्द्र चहार्न सक्ने कृष्णहरि पुष्कर पनि दौडमा छन् । अर्थदेखि बिभिन्न मन्त्रालय पाएर पनि खासै काम नदेखाएका पुष्करलाई दक्षिणी आर्शिबाद रहेको चर्चा गरिन्छ ।

    त्यसबाहेक हरि मैनाली, नारायणप्रसाद शर्मा दुवाडी, अर्जुन पोखरेल पनि दौडधूपमा रहेको सिंहदरवारभित्र चर्चा छ । त्यसैगरी गोकर्णमणि दुवाडी, मुकुन्द निरौलालगायतका सचिवहरू पनि अवसर पाए काम गरेर देखाउने योजनामा छन् ।


    गृहकै क्याडर


    गृहसचिव वनेर नतिजा दिनका लागि केही बाञ्छित योग्यता भए अझ राम्रो हुने जानकारहरु बताउँछन् । शक्तिकेन्द्रका हानाथापले गर्दा गृहकै क्याडर गृहसचिव बन्ने गरेको देखिदैन । गृहकै क्याडर गृहसचिव बनाउने हो भने केही सहज हुने एक पूर्वगृहसचिवले बताए । दौडधूपमा रहेका मध्ये केही मात्र गृहकै क्याडर छन् । अन्य भने भनसुन र राजनीति शक्तिको दुरुपयोग गर्नेहरु छन् ।

    सचिवहरु मध्येहाल तथ्यांक बिभागमा रहेका गोकर्णमणि दुवाडीगृहकै क्याडर भएको पूर्वगृहसचिवको भनाई छ । उनी बिभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका ब्यक्ति हुन् । सिन्धुपाल्चोक, सप्तरी जस्ता पहाड र तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा उनले काम गरेका छन् ।

    हक्की स्वभाव र चाकडी चाप्लुसीमा नलाग्ने दुवाडीले भूमि ब्यवस्था बिभागमा रहँदा अनलाईन प्रणालीमा काम गरेर सुशासनको पक्षमा काम गरेका थिए । उनको यो कामको प्रशंसा भएको थियो । चीनमा बिशेष सुरक्षा तालिम (डिफेन्स कोर्ष तालिम) लिएका दुवाडीले जापान बाट पब्लिक पोलिसीमा मास्टर डिग्री गरेका छन् ।


    गृहमा लथालिङ्ग

    यतिखेर समग्र गृहप्रशासन निकै सुस्त बन्न पुगेको छ । सरकारले छिटोभन्दा छिटो गृहसचिव नियुक्त गरी गृह प्रशासनलाई चुस्त बनाउनुपर्ने सुझाव अधिकारीहरूको छ ।
    सरकारले केही दिनअघि ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्दा चार जना सहसचिवलाई गृह मन्त्रालयमा ल्याएको थियो। गृह मन्त्रालयमा आउने चार जना सहसचिवमा रमेश ढकाल, डा. टोकराज पाण्डे, कृष्णप्रसाद लम्साल, ऋषिराम तिवारी रहनुभएको छ । त्यसअघि गृहमा आएका लालबाबु कवारीलगायतका अन्य केही सहसचिवहरू पनि हाजिर गर्दै फर्कने गरेका छन् ।