• काठमाडौं : भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृतक महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।

    भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ । ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ  । ट्राफिक प्रहरीले लापर्वाही गर्दा भयंकर दुर्घटना भएको प्रत्यक्षदर्शी एवं स्थानीयहरुको भनाई छ ।

    ट्राफिक जाँचका क्रममा रोकिएको स्कुटरलाई कौशलटारतर्फबाट थिमितर्फ गुडिरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनापछि हिजो झण्डै पाँच घण्टासम्म भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

    घटनास्थलमा जम्मा भएको आक्रोशित भीडले ट्रकमा ढुङ्गामुढा गरेर आगजनीको प्रयास गरे पनि प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको थियो ।