• काठमाडौं । नेपाल र चीनबीचको स्थल नाकामा भएका सडक समस्याका बिषयमा नेपाल हिमालय सीमापार बाणिज्य संघका पदाधिकारीले सरोकारवाला मन्त्रालयमा ध्यानाकर्षण गराएको छ । पदाधिकारीको टीमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहाललाई भेटेर समस्या सुनाएको हो ।

    भेटमा मन्त्रीले समस्या समाधानका लागि सरकारले तुरुन्तै पहल लिएको सुनाएका छन् । पछिल्लो समय अरनिको राजमार्गका बिभिन्न स्थानमा भएको क्षति र तातोपानी नाका सडक सम्पर्कबाट बिच्छेद भएको बिषयमा मन्त्रीलाई बिशेष ध्यानाकर्षण गराइएको छ । रसुवा नाका र तातोपानी नाकामा आउने सडक समस्याका लागि अलिक गम्भीर रुपमा लिईदिन अनुरोध गरिएको हिमालय सीमापार वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सागर घिमिरेले जानकारी दिए । उत्तरी नाकाहरू रसुवागढी र तातोपानीको बाटोको अवस्था र त्यसको स्तरोन्नती र निरन्तरको बर्षाको कारण बिग्रेको बाटोहरू तत्काल सुधारको लागि मन्त्रीले खास चासो दिनुभएको अध्यक्ष रामहरि कार्कीले बताए ।

    साथै अरनिको राजमार्गको खागदलमा भएको पुल क्षतिमा पनि सरकारले तत्काल चासो दिएर बेलीब्रिजको व्यवस्था गरेको मन्त्री दाहालले पदाधिकारी टोलीलाई जानकारी दिएका थिए । साथै, यस्ता राजमार्गका समस्याहरु समाधान गर्न दीर्घकालीन र अल्पकालीन योजना निर्माण भएको पनि मन्त्रीले जानकारी दिएका थिए । हिमालपार बाट व्यवसाय गर्नेहरुको समस्या समाधानका लागि संघ सधै कृयाशिल रहेको अध्यक्ष कार्कीले बताए ।