• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनीहरूलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।

    एमालेका उप–महासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार थिए। ओली प्रधानमन्त्री नभएको बेलामा पनि रिमालले उनको राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएका थिए । रिमाल जिफन्टको पूर्वअध्यक्षसमेत हुन्।

    यस्तै पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री थिए। अर्थमन्त्रीबाट हटेपछि उनी अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए ।