• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

    इन्जिनियर दिवसको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको उनले बताए । तर अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको उनको भनाइ छ ।

    ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ’, उनले भने ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले इन्जिनियरहरूको न्यूनतम तलब सुनेर अचम्मित भएका छन् । सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ? भनेर प्रश्न गरे । अहिलेको बजार भाउअनुसार मासिक ३७ हजार रुपैयाँ न्यूनतम तलब साह्रै थोरै भएको भन्दै उनले इन्जिनियरहरूको मागप्रति आफू सकारात्मक रहेको बताए ।