• काठमाडौं : सरकारले जोखिम रहेका जिल्ला र क्षेत्रमा मौसम प्रतिकूल अवस्थामा रात्रिकालीन गाडी नचलाउने र यसको कडाइका साथ कार्यान्वयन गर्ने निर्णय नै गरेको छ ।

    गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा आज यातायात व्यवसायीका प्रतिनिधिसँग छलफल गरी यस्तो निर्णय गरेको हो । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएपछि गृह मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

    ‘रेड जोन’ अर्थात् उच्च जोखिमका जिल्ला र क्षेत्रका सडकमा धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका ठाउँमा मौसम पूर्वानुमान महाशाखाको तीन दिनको पूर्वानुमानलाई हेरेर रात्रिकालीन बस नचलाउने निर्णय भएको गृह सचिव एकनारायण अर्यालले बताए।

    यस्तै यात्रुलाई अनिवार्य टिकट लिएर यात्रा गर्न अनि यसको पालना भए-नभएको अनुगमन गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ ।