• बाग्लुङ : बाग्लुङ नगरपालिकाले झन्डै तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणका लागि पहल थालेको छ । बाग्लुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरण गर्न पहल शुरु गरेको उपमेयर राजु खड्काले जानकारी दिए ।

    बाग्लुङ बजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रूपमा रहेको देउराली चोक, कम्पु टोल र किनरा टोललाई संरक्षण गर्ने गरी काम शुरु गरेको पनि उनले बताए ।

    तीन सय वर्षअघि भक्तपुरबाट बाग्लुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाच बाग्लुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा यो नाच हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवर्द्धनका लागि यो नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो ।

    मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको हो । एकै पटक १४ जोडीले नाच्ने भएकाले यो नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न यो नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख जनाभन्दा बढी भक्तजन आउने गरेका छन् ।

    ती भक्तजनलाई बाग्लुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्यूआर कोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षमा ‘बाग्लुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।