• लमजुङ  : पहिरोका कारण बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण बेँसीशहर नगरपालिका वडा नम्बर ६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाइकाअनुसार खरखरेभीरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । त्यही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ।

    हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको ठाउँ खरखरेभीर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।