• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताएका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टी , भाजपा नेतृत्वको एनडीएले २ सय ९० को हाराहारीमा सिट ल्याउने देखिएसँगै प्रधानमन्त्री मोदीको प्रतिक्रिया आएको हो । हिजो बेलुका दिल्लीमा रहेको कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गरेका बीबीसी हिन्दीले जनाएको छ ।

    निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो चुनाव सम्पन्न गरेको भन्दै उनले धन्यवाद पनि दिए । प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका हुन् । वाराणासीबाट यो उनको लगातार तेस्रो जित हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका हुन् ।

    यसैबीच, भारतको हिमाचल प्रदेशको मन्डीबाट भारतीय जनता पार्टीकी बलिउड अभिनेत्री कङ्गना रनौतले लोकसभा चुनाव जितेकि छिन् । उनीले कांग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएकी हुन् ।