• काठमाडौं : इलामको चुलाचुली गाउँपालिका–५ मा रतुवा खोलाले जीप बगाउँदा दुईजनाको मृत्यु भएको छ । हिजो बेलुका रतुवा खोलामा एक्कासी बाढी आएको र बाढीले लु १ च ९४९१ नम्बरको जीप बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ज्यान गुमाउनेमा माङ्सेबुङ गाउँपालिका–५ की सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका ३ वर्षीय छोरा निहाङ लिम्बु रहेका छन् । निरु लिम्बु घाइते हुनुहुन्छ । हाम फालेका चालकसहित तीन जनाको अवस्था सामान्य छ ।

    जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालकाअनुसार दुई जनाको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो । जीप इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकका लागि छुटेको थियो ।