• काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा भएका छन्।

    अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएकोले हाजिरी जमानतमा छोडिएको कैलाश सिरोहियाका वकिल रमण कर्णले बताए।

    ‘सरकारी वकिल कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले कैलाश सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई छोडेको हो,’ कर्णले भने।

    उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेकोले बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन्।

    उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो।

    सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए।

    यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए।

    उनले राज्यले २०३३÷२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।