• काठमाडौं : कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशीले ललितपुर मेयर्स–एघार (११) लाई ६ विकेटले हरायो ।

    ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १२ बलअघि ४ विकेट गुमाएर भेटायो । कोशीकी काजल श्रेष्ठले नट आउट ३६ रन बनाइन् । ललितपुरकी कृतिका मरासिनीले ३ विकेट लिइन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । ललितपुरकी आश्मा पुलामी मगरले नट आउट २६ रन बनाइन् । कोशीकी अप्सरी बेगमले ३ विकेट लिइन् ।

    कोशीले लगातार तीन खेलको हारपछि पहिलो जित हात पारेको हो । योसँगै तालिकाको चौथो स्थानमा रहेको कोशीले ४ खेलमा २ अङ्क जोडेको छ । ललितपुर ४ खेलमा २ अङ्कसहित नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

    पाँच टोली सहभागी प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।