• काठमाडौं : महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका छन् ।

    आज दिउँसो १२ बजेदेखि शुरु भएको आगलागीमा फुस, खर, पराल र केही पक्की गरी एक सय ५० वटाभन्दा बढी घरगोठ जलेका हुन् । आगलागीमा अहिलेसम्म मानवीय क्षति भएको छैन तर पशुचौपाया, अन्नपात जलेर नष्ट भएका छन्।

    अहिले नगरपालिकासहित छिमेकी पालिकाका दमकलसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका छन् । दिउँसो खाना बनाउने समयमा जरलहवा गाछीमा आगलागी भएको थियो ।

    अहिले कार्यपालिकाको आकस्मिक बैठक बसिरहेको र राहतबारे आजै निर्णय हुनसक्ने बताइएको छ ।