• काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    कांग्रेस उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका थिए । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    उपसभापति गुरुङले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौँ । विश्वासको मत दिएका थियौँ । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौँ ।’

    यस्तै कांग्रेसले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

    यस्तै कांग्रेसले तत्काल सत्ताको खेलमा नलाग्ने बताएको छ ।

    उपसभापति गुरुङले कांग्रेसका कारणले नभएर प्रधानमन्त्रीको काँध फेर्ने प्रविधिका कारण गठबन्धन भत्किएको बताए । उनले कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताए ।