• काठमाण्डौ : सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य सम्भव भएको बताएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलका सहसचिव सन्दीपकुमार देवले नेपालमा २० मेगावाट बिजुली उत्पादन भएको अवस्थाबाट ५ सय मेगावाट निर्यात गर्नेसम्मको अवस्थामा आइपुगेको भन्दै सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको योजना सम्भव रहेको बताए ।

    त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमहादुर मिश्रले जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न नेपालका बैंक तथा वित्तीय संस्था सक्षम रहेको भन्दै साना साना योजनामा लगानी गरेर ठूलो मात्रामा बिजुली उत्पादनको सम्भावना रहेको बताए ।

    कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजार मेगावाट बिजुली निर्यातसहित आन्तरिक खपत बढाउन सकेमा देशको आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पर्ने बताए।