

-
काठमाण्डौ : सरकार सञ्चालन र राष्ट्रिय सभा चुनावको सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादी पार्टीले व्यापक असन्तुष्टि प्रकट गर्दै दलका जिम्मेवार नेताहरुले सरकारबाट बाहिरिने सम्मको घुर्की लाउन थालेका छन् । सोमबार काठमाण्डौमा बसेको सचिवालय बैठकमा जिम्मेवार नेताहरुबाटै गठबन्धनको संस्कृति विपरित कांग्रेस र माओवादीले सरकार सञ्चालन र सिट बाँडफाँटमा एकलौटी गरेको भन्दै तीव्र असन्तुष्टि ब्यक्त गरेका छन् ।
बैठकमा एकलौटी कायमै रहे सरकारबाट बाहिरिनुपर्ने केही नेताहरूले धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले गठबन्धनमा बस्न निकै अप्ठ्यारो भएको समेत बताए छन् । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, खनालले भने ।
आफूहरूको मतबाट मोटाएका कांग्रेस–माओवादीले अहिले पार्टीमाथि नै प्रभुत्व जमाएको उनले आरोप लगाएका छन् । राष्ट्रिय सभामा एकीकृत समाजवादीले ३ सिट दाबी गरेपनि साबिक २ सिट पाएको थियो । यसअघि स्वतन्त्र जितेको सिट खोसिएको थियो ।
यस्तै राष्ट्रिय सभामा दुई सिट दाबी गरेको जसपा मधेसमा साबिक एक पाएकोमा सन्तुष्ट छैन । यद्यपि आफूहरू गठबन्धनलाई थप बलियो बनाएर जाने पक्षमा रहेको नेताहरू बताएका छन् । तर सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको उसले निष्कर्ष निकालेको छ । बुधबार, बिहीबार र शुक्रबार राजधानीमा बसेको राजनीति समिति र केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रतिवेदन पेस गरेका थिए । यद्यपि श्रेष्ठले जसपा सत्ता गठबन्धनलाई अझै बलियो बनाएर जाने पक्षमा रहेको बताए ।
‘राष्ट्रिय सभामा हामीले दुई सिट दाबी गरेको हो । दाबी अनुसार सिट पाएनौँ । साबिक एक सिटमा चित्त बुझाएर भएपनि गठबन्धनका सबै उम्मेदवारलाई जिताउने पक्षमा उभिएका छौँ’, उनले भने, ‘सत्ता टिकाउन प्रधानमन्त्री केन्द्रित हुनुपरेकोले अपेक्षा अनुसार काम हुन सकेको छैन । हामी गठबन्धनलाई थप बलियो बनाएर लैजाने पक्षमा छौँ ।’
यस्तै राष्ट्रिय सभामा एक–एक सिट दाबी गरेका लोसपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा आफ्नो दाबी रहेको बताएका छन् ।
‘राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा पार्टीको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलजीलाई प्रस्ताव गरेका छौँ । राष्ट्रिय सभामा योग्य, अनुभवी र क्षमतावान व्यक्ति जानुपर्छ भन्नेमा हामीलाई अनुभव भएको छ’, केसीले भनेका थिए ।
यस्तै लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भागबण्डाप्रति असन्तुष्टि जनाएपनि गठबन्धनकै पक्षमा रहेको बताएका छन् । यद्यपि सातै प्रदेशमा साना दलहरूले निर्वाचन प्रक्रियामा असहयोग गरेपनि गठबन्धनका उम्मेदवारलाई कुनै असर पर्ने देखिँदैन । कांग्रेस–माओवादीको मतभार सातै प्रदेशमा बलियो रहेकाले केही फरक पर्ने स्थिति भने छैन ।
राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबीच खटपट शुरु भएको हो । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।
सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एकरएक सिट दाबी गरेका थिए । तर नपाएपछि जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।
माघ ११ गते हुने निर्वाचनमा जपाले मधेसमा रामशंकर महासेठ र लुम्बिनीमा बालगोविन्द चौधरी थारुलाई उठाएको छ । ती प्रदेशबाहेक अन्य प्रदेशमा गठबन्धनका उम्मेदवारलाई नै सघाउने निर्णय गरेको छ ।
पुस २९ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत सहभागी भएन । उक्त बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । अपिलमा जनमतबाहेकका दलको मात्र हस्ताक्षर रहेको छ ।
News Desk 0 response बुधबार, माघ ३, २०८०

सम्बन्धित शीर्षकहरु
-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


