• काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्द पक्राउ पुर्जी जारी गरेको छ ।

    उनीहरू विरुद्द जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्दको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३)  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ  ।

    पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्द ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

    अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ । पछि त्यसको उजुरबाजुर नलाग्ने समेत अदालतले जारी गरेको पुर्जीमा उल्लेख गरिएको छ ।

    यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

    ‘वारेन्ट जारी हुनुहुँदैन, उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ । थप थाहा छैन बुझ्दैछु’ प्रधानमन्त्रीले भने ।

    २०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो ।  सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका छन् ।