• नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बिहिवारबाट सुरु भएको छ ।

    ‘समृद्धिका लागि संकल्प यात्रा, २०८०’ नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ अभियान सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर अभियानको थालनी गरेका हुन् । अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारीहरु झुलाघाट पुगेका छन् ।

    अभियान सुरु गर्दै एमाले अध्यक्ष ओलीले आफूहरूले आजबाट थालेको अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउने दाबी गरेका छन्। उनले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने दाबी गरे । यात्राका क्रममा मध्यपहाडी भू–भागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सीप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने उनको भनाइ छ।

    ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन गर्दै मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पनाकार पार्टी अध्यक्ष ओलीको नेतृत्वमा शुरू गरिएको यात्राले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

    उनले भने – यात्राका क्रममा स्थानीय जनतासँग संवाद गरिने छ । पुष्पलाल लोकमार्ग निर्माणले ल्याएको परिवर्तन नजिकबाट नियालिने छ । जनतामा रहेका विभिन्न खालका भ्रमहरूलाई चिर्ने काम हुने छ । देशको समग्र विकासको खाका कोर्न सहयोग पुग्ने छ ।

    बैतडी पुगेका अध्यक्ष ओली र उनकी पत्नी राधिकाले हिजो दशरथचन्द नगरपालिकामा रहेको निङालासइनी देवीको दर्शन तथा पूजासमेत गरेका थिए ।

    बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने जानकारी दिइएको छ ।

    गत कात्तिक २२ गते बसेको एमाले सचिवालय बैठकले मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    एमालेले मेची-महाकाली छिचोल्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा यात्रा गरेर कार्यकर्ता भेट्ने र सुझाव संकलन गर्ने कार्यपालिका बनाएको छ ।

    यसअघि उसले २०७३ फागुनमा १५ दिने मेची-महाकाली अभियान चलाएको थियो । संविधान जारी भइसकेको त्यस समयमा एमालेले संविधाने कार्यान्वयन, सामाजिक सद्भाव बढाउने र राष्ट्रिय एकता मूल उद्देश्य राखेको थियो ।

    यसपटक भने पहाडको समस्या के हो, किन पूर्वाधार र उत्पादनमा जोडिन सकेको छैन्, बसाइँसराइँ रोक्दै कसरी पहाडलाई समृद्धिको बाटोमा डोर्‍याउन सकिन्छ भनेर बुझ्ने उद्देश्य रहेको एमालेको दाबी छ ।

    अभियानले विकास निर्माणका आवश्यकता र चुनौती पहिल्याउने तथा आर्थिक र सांस्कृतिक पक्षहरूलाई उजागर गर्ने नेताहरूको भनाइ छ । आज बिहान झुलाघाटदेखि सुरु भएको अभियानअन्तर्गत विभिन्न २० स्थानमा कार्यक्रम र सुझाव संकलन गर्ने एमालेले जनाएको छ