• कास्की : नेकपा एमालेको गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएको छ ।

    शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मी खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् ।

    त्यसैगरी उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी परेको छ । उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार १ सय ६२ सदस्यीय प्रदेश कमिटीका लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय सङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।

    गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चुन्न अझै पनि प्रयास भइरहेको बताए । अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले सबैलाई समन्वय गरेर लैजानका लागि आफूले उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी पार्टी बलियो बनाउनका लागि भएको बताए । त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार नवराज शर्माले उम्मेदवारी दर्ता भए पनि अझै सहमतिको सम्भावना नटरेको बताए ।

    पोखरा सभागृह हलमा चलिरहेको नेकपा (एमाले) गण्डकी प्रदेश समितिको निर्वाचन प्रक्रिया लम्बिएको छ । निरन्तरको झरी र फितलो व्यवस्थापनका कारण उम्मेदवार छान्न भोलि बिहीवार बिहान मात्रै निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । विद्युतीय मेशिनमार्फत मतदान गर्ने तयारी भइरहेको छ ।