• सदनलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो । तर सरकारले छलफलका लागि पर्याप्त विधेयक नै दिन सकेको छैन । सरकारले संसदमा देखाएको रवैयाले संसदीय व्यवस्थाकै धज्जी उडाएको छ । कानुन बनाउने सदनलाई गतिहीन बनाएर राजनीति गर्ने थलोका रुपमा मात्र परिणत गरिए त्यसको मूल्य दलहरुले नै चुकाउनुपर्ने हुनसक्छ ।

    पुस २५ गते सुरु भएको प्रतिनिधिसभाको दोस्रो अधिवेशनले अहिलेसम्म एउटा मात्र कानुन बनाएको छ । कहिले एजेन्डाविहीन भएर बैठक नै नबस्ने त कहिले शून्य र विशेष समयमा बोलेर बैठक सक्ने स्थिति छ । सरकारले संसदलाई बिजनेश दिन सकेको छैन ।
    संघीय संसद्‌ले पहिलो अधिवेशनले कुनै पनि कानुन बनाउन सकेन । वैशाख २४ गते सुरु भएको दोस्रो अधिवेशनले एउटा मात्र कानुन पारित गरेको छ । दुईवटा अधिवेशनमा गरेर प्रतिनिधिसभातर्फ ६३ र राष्ट्रियसभातर्फ ५९ बैठक बसेका छन् । तर, अधिकांश बैठक विधेयकबाहेकका विषयमा केन्द्रित भएको छ ।

    अहिले विधेयक पारित गर्नकै लागि भनेर दोस्रो अधिवेशन लम्ब्याइएको छ । तर न नयाँ विधेयक अगाडि बढ्ने सम्भावना छ त समितिमा रहेका विधेयकमा सहमति नै जुट्ने अवस्था देखिएको छ ।

    दलहरु संसद्‌को एजेन्डालाई भन्दा शीर्ष नेताहरुको व्यक्तिगत टकरावलाई प्राथमिकता दिइरहेका छन् । शून्य र विशेष समयमा बोलेर सांसदहरुले समय कटाउनुपर्ने अवस्था छ । तर, संघीय निजामती विधेयक सदनमै दर्ता भएको छैन भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा अड्किएको छ । स्वास्थ्यदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक सरकारले अगाडि बढाउनै सकेको छैन । सरकारले सहजीकरण नै गर्न खोजेको छैन ।

    सत्तारुढ दल भने सदनले कानुन बनाउन नसक्नुको दोष प्रमुख प्रतिपक्षी दललाई दिएर पन्छिँदै आएको छ ।