• काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन सहमति भएको हो । बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताए ।

    तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ ।  गिरीले सरकारले छानबिन समिति बनाउन तयार भइसकेकाले संसद अवरोध हट्न सक्ने बताए ।

    बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए । उनले सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको जानकारी लिए । ‘भोलि बसेर सबै विषय टुंग्याउँछौँ । सकारात्मक छलफल सौहार्दपूर्णरुपमा छलफल भएको छ । भोलिको संसद चल्छ’ लेखकले भने ।

    त्यस्तै रास्वपाका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सहमति बनेको बताए ।