• काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा जवाफ दिएपनि प्रमुख प्रतिपक्षी दल एमालेले बैठक पुनः अवरुद्ध गरेको छ ।

    मंगलबार बसेको बैठकमा गृहमन्त्रीले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनबारे जवाफ नदिएको भन्दै एमाले सांसदहरुले उठेर नाराबाजी गरेका छन् ।

    एमालेको विरोधपछि सभामुख देवराज घिमिरेले भोलि बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै एमालेले विरोध गरेको हो ।

    गृहमन्त्रीले भनाई सकेलगतै एमाले सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमाले सचेतक महेश बर्तौलालाई बोल्न समय दिएका थिए ।

    बर्तौलाले गृहमन्त्रीले कुटिल तरिकाले प्रतिपक्ष दलले संसद् अवरोध गरेको आरोप लगाएको उल्लेख गर्दै सरकारकै कारण संसद् अवरुद्ध भएको दाबी गरे । उनले असार १५ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सत्तापक्षकै कारण सूचना टाँस गरेर स्थगित भएको बताए ।

    गृहमन्त्री श्रेष्ठले एमालेले उठाएको विषयवस्तुभन्दा ८० प्रतिशतभन्दा बढी राजनीतिक प्रवचन दिएको आरोप लगाए । गृहमन्त्रीले एमालेको उच्चस्तरीय छानबिन समिति गठनको मागको विषयमा केही नबोलेको प्रति आपत्ति जनाउँदै सो माग कायमै रहेको बताए ।