• काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आज चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने निश्चित भएको हो ।

    थपिएको दिनको बैठकको सम्बन्धमा आज साँझ पदाधिकारी बैठक बसेर आवश्यक निर्णय लिइने बताइएको छ । केन्द्रीय समिति बैठक लम्बिएपछि बैठक बस्ने ठाउँको खोजी पनि सुरु गरिएको छ ।

    शुक्रबारसम्म १ सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । शनिबार थप २ सय जनाको हाराहारीमा बोल्ने नाम टिपाएका छन् । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनेछन् ।