• काठमाडौं : नेकपा (माओवादी केन्द्र) को उपलब्ध पदाधिकारीहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइए पनि त्यसबारे ठोस निर्णय हुन सकेन ।

    बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष पम्फा भुसालले आ–आफ्नो विदेश भ्रमणका बारेमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री दाहाल इटालीमा आयोजित संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोम आयोजित ‘फुड सिस्टम समिट’ मा सहभागी भएका थिए । गत साउन ६ गते इटाली प्रस्थान गरेका उनी शुक्रबार नेपाल फर्किएका हुन् ।

    त्यस्तै, भुसाल नेतृत्वको माओवादी नेताहरूको टोली भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा साता दिनअघि नयाँ दिल्ली गएर फर्किएको हो ।

    आजको बैठकमा इटाली र भारत भ्रमण सम्बन्धमा ब्रिफिङ भएको थियो । दुवै भ्रमण सफल भएको अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भुसालले क्रमशः जानकारी गराएका थिए ।

    केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नेगरी भोलि ३ बजे बजे पुनः बैठक बोलाइएको छ । आजको बैठकमा विशेष महाधिवेशनभन्दा पनि विधान सम्मेलन गर्नेबारेमा छलफल भएको थियो ।