• काठमाडौं : नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

    भरखरै मात्र सकिएको मतगणनामा नेपाली काँग्रेसका उमेद्वार पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

    प्राप्त मतपरिणाम अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याएका छन् । जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा रहेका एक सांसदले बताए ।

    त्यस्तै, एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याएका छन्। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतले मतदान गरेका थिए।

    राप्रपा र नेमकिपा भने राष्ट्रपति निर्वाचनमा सहभागी नै भएको थिएन।

    मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।