• काठमाडौं ।

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि माओवादीले आपत्ति जनाएउँदै न्यायालयप्रति अप्रत्यक्ष धम्की दिएको छ । यस बिषयमा उसले अन्तर्राष्ट्रिय समुदायसँग पनि गुहार मागेको छ ।

    कांग्रेस महासमिति सदस्य जितेन्द्र मोक्तान र ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै रिट दर्ताको प्रकृया अघि बढाएका छन् । यो आदेश विस्तृत शान्ति सम्झौताविपरीत भएको उसको भनाई छ । रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरू सलबलाएको भन्दै माओवादीले बाह्र बुँदे समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।

    पार्टीका महासचिव देव गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै न्यायधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर षडयन्त्र लुकेको शंका गरेको छ ।