• काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएको बताएका छन् ।

    अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गरे । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गरे । संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे । उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए ।

    अध्यक्ष नेपालले भने, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संविधानको उल्लङ्घन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले संकटको सन्देश दिन्छ ।’

    अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।