• काठमाडौं : प्रदेश १ सरकारको नवगठित सरकारले मन्त्रालय संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ।

    शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।

    बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ।

    यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने, प्रदेशको मन्त्रालयको संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय गरेको हो।

    मन्त्रालय र मन्त्रीहरू धेरै भएको जनगुनासोलाई विचार गरेर मन्त्रालयको संख्यालाई घटाएर नौ वटामा कायम गर्न आवश्यक प्रक्रिया सुरू गर्ने निर्णय गरिएको हो ।

    सोमबार हिक्मत कार्कीले शपथ ग्रहण गरेका हुन्। उनीसहित तीन जना मन्त्रीहरूले पनि शपथ लिएका थिए। मुख्यमन्त्री कार्कीसहित नेकपा (एमाले) का तिलकुमार मेयाङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले मन्त्रीको शपथ लिएका थिए।