• काठमाडौं : सत्ता साझेदार दलहरूले आज सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

    गठबन्धनको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको थियो । भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि गृहमन्त्री लामिछानेले बताएका थिए ।

    एक नेताका अनुसार एमालेले ९ वटा मन्त्रालय पाउने भएको छ । एमालेको दाबी १० वटा मन्त्रालय थियो । तर साना दलहरुलाई पनि समेट्नुपर्ने भएकाले एमाले नेतृत्व ९ मा सहमत भएको छ । उसले अर्थ मन्त्रालय लिइसक्यो भने बाँकी मन्त्रालय टुंगिएको छैन । मन्त्रालय नटुंगिएका कारण प्राधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ११ पुसमा सपथ दिएका एमालेका तीन मन्त्रीले जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।

    माओवादी केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत गरेर ५ वटा मन्त्रालय पाउने भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्रालय पाउनेछ । रास्वपालाई एक राज्यमन्त्री दिने लगभग सहमति जुटेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

    जनता समाजवादी पार्टी (जसपा) र राप्रपा भने न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि मात्र सरकारमा आउने नआउने तय हुने दुबै दलका नेताहरु बताउँछन् ।