• काठमाडौं । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि काठमाडौंबाट भोट हाल्न गाउँ जानेको भिड बढेको छ । कतिपय दलका उम्मेदवारले बस नै रिजर्भ गरेर मतदातालाई काठमाडौंबाट लगिरहेका छन् भने धेरै मतदाता आफैँ टिकटको व्यवस्था गरेर भोट हाल्न जाँदैछन् । अहिले नयाँ बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलङ्कीमा यात्रुको भिड लागेको छ ।

    उम्मेदवारले नै बस रिजर्भ गरेर लैजाने व्यवस्था मिलाएका कारण आफू भोट हाल्न लमजुङ जान लागेको गोंगबु बस्दै आएका हरिराम मरहट्टाले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न नाका भएर पछिल्लो तीन दिनमा झण्डै दुई लाख जना बाहिरिएका छन् ।

    आज बेलुकासम्ममा उपत्यका छाड्नेको सङ्ख्या थप बढ्ने अनुमान छ । हिजोदेखि मतदानस्थल रहेका शिक्षण संस्था बन्द भएका र आज शनिवार तथा भोलि र पर्सि सरकारले सार्वजनिक बिदा दिएका कारण भोट खसाल्न जानेहरु बढेका छन् ।

    यसपालि दशैँ, तिहार र छठ मनाउन गाउँघर गएका कतिपय चुनावका कारण काठमाडौं फर्किएका छैनन् । चुनावका लागि मात्रै झण्डै पाँच लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

    भोलि भोट हाल्ने दिन अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।