• काठमाडौं : कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

    शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले त्यो निर्णय नसच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी चुनावको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले समानुपातिकतर्फको टिकट वितरणको सूचि तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दवाव दिए।

    अर्का नेता भुपेन्द्रजंग शाहीले आउँदो चुनावको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिए । उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका थिए ।

    नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको चुनावको सूचि पार्टी सभापति शेरबहादुर देउवाले आउँदो असोज १६ गतेसम्म नसच्याए आफूहरु विद्रोह गरेर अघि बढन बाध्य हुने बताए ।